खाजा खान एक्लै निस्केको बेला थियो, कट्टी रोल देखेर पसल भित्र छिरेँ। एउटा चिकेन कट्टी रोल मगाएँ। त्यत्तिकैमा एउटा बाबु आयो, “दाइ पैसा दिनु न” भनेर उसले भन्यो। बाबु हेर्दा मनको राम्रो जस्तो थियो, सोझो र शान्त स्वभावको। मैले “पैसा छैन बाबु” भनेर भनेँ। त्यत्तिकैमा बाबुले “नत्र केही खाने कुरा दिनु न” भन्यो। मेरो मन सर्है भक्कानियो, किन कसो केही नसोधी उसलाई भित्र बोलाएँ। “ल, के खान्छौ भन न त?” भनेर सोध्दा, “हजुरले जे दिनुहुन्छ त्यही” यसरी नै भन्यो बाबुले।
धेरै होइन, यति एक दुई शब्दले मलाई भगवानले धन्ना यति योग्य चाहिँ बनाएको रहेछन् भन्ने खुशी लाग्यो। पैसा ले भरिभराउ नभए पनि कसैको इच्छा पूरा गर्ने योग्य त भएको रहेछु भन्ने महसुसले मन भरियो। “मैले जे मगाएको थिएँ, त्यही दुईटा गरिदिनु” पसलका दाइलाई भनेँ। खाना कुर्दै मैले बाबुसँग कुरा गरेँ, बुबा टायलको काम गर्नुहुँदो रहेछ, आमा घर सफा गर्ने काम गर्नुहुँदो रहेछ। “यति राम्रो मान्छे, घर कहाँ हो तिम्रो?” भनेर सोध्दा, “कलिमाटी” भनेर उसले भन्यो।
त्यति टाढाबाट यता के गर्न आएको त भन्दा, “त्यत्तिकै” भनेर बाबुले भन्यो। कक्षा ५ मा पढ्दो रहेछ अहिले। बुबाले २० रुपैयाँ दिनुहुँदो रहेछ खाजा खान भनेर। अनि सधैं चाउचाउ खान्छ रे। यत्तिकैमा उसको कट्टी रोल आइपुग्यो। कति मज्जाले खाइरहेको थियो उसले, सबै प्याकेटहरू राम्ररी डस्टबिनमै फाल्यो। अनि “बाबा, मम्मी बेलुका आउनुहुँदा गाली गर्नुहुन्न?” भनेर सोध्दा, “बाबा र मम्मी बेलुका ढिला आउनुहुन्छ, दुबै जना आउनु अघि म घर पुगिसक्छु” उसले भन्यो।
मलाई बल्ल याद आयो, नाम त सोध्नै बिर्सेछु। “क्रिश हो मेरो नाम, क्रिश कुमार” भनेर भन्यो। भारतमा जन्मेको, नेपाल आएको ७ वर्ष भएछ। यति सानो मान्छे यसरी एक्लै हिँड्दा हराउँदैनौ भनेर सोध्दा, “बाटो सोध्दै सोध्दै जान्छु” भन्यो। जति बेर पनि म त्यो बाबुसँग बस्दै थिएँ, मलाई त्यति नै कृतज्ञ महसुस हुँदै थियो। मेरो कट्टी रोल मैले प्याक गरिदिनु भनेको थिएँ। दाइले “हजुरको लागि तयार भयो” भनेर दिनुभयो। “ल, खाऊ है, म जान्छु” भनेर हिँडेँ।
जिन्दगी र समयको खेल पनि अनौठो छ। म घरबाट अलि ढिलो गएको भए के मेरो क्रिशसँग भेट हुन्थ्यो होला? म कट्टी रोल खानुको सट्टा अरू केही खाएको भए के हाम्रो भेट हुन्थ्यो होला? उसले मलाई देखेर नबोलाएको भए मैले उसलाई देख्थेँ होला? होला या नहोला, तर सबै परिस्थितिले मलाई र सानो क्रिशलाई भेटाउन अथक प्रयास गरेको जस्तो लाग्छ, अनि परिस्थिति सफल पनि भयो।
मलाई खुशी पनि लाग्छ, अरू केही गर्न सके पनि नसके पनि, मसम्म आइपुगेको मान्छेको इच्छा मैले पूरा गर्न सकेँ, त्यसमै मलाई सन्तोष छ। क्रिशले मलाई सम्झेला नसम्झेला, तर मैले त्यो क्षण र क्रिशलाई कहिल्यै बिर्सिन्न। घर आइपुगेपछि केही खाएर अहिले यो लेख्दै छु।